Sunday, April 20, 2014

एउटा अव्यक्त प्रेम

लेखक :- महावीर विश्वकर्मा    
लेखक 


वर्ष सकिन सकिन आँटेको थियो । चैतको आधी आधी भइसकेको थियो । गाउँलेहरु चैते धान रोप्न हत्तारिँदै खेत तिर लम्किन्थे । विद्यार्थी केटाकेटीहरु विद्यालयको ठुलो जाँच सकाएर बसेका थिए । त्यो ठुलो जाँच । अर्थात अन्तिम परीक्षा । गाउँमा भर्खरै एस.एल.सि.दिएर बसेका विद्यार्थी पनि केही थिए । अझ औँलामै गन्ने हो भने त ३ जना थिए क्यारे । सूर्य, सागर र चन्द्रमाया ।

सूर्य, जसलाई गाउँलेहरु सुर्जे भनेर बोलाउँथे । अलि टाठो केटो । अलि चलाख, बाँकी २ जनाभन्दा । बोलिरहनुपर्ने उसलाई । र त, साथीहरु चतुरे भनेर पनि जिस्काइदिन्थे । तर मान्छे निक्कै सहयोगी थियो ।
सागर, जो लजालु भनेर चिनिन्थ्यो गाउँमा । मनको कुरा मनमै गुम्साउने । ‘घुस्घुसे’ भनिदिन्थे साथीहरु उसलाई । तर उसको एउटा अजीव बानी थियो । जब केही कुराले मनमा बिझाउँथ्यो, अनि एक्लै बसेर कापीमा के—के लेखिरहन्थ्यो । लेखिसकेपछि पढ्थ्यो । अनि फेरी च्यातेर फालिदिन्थ्यो ।

अनि चन्द्रमाया, पण्डितले बाजेले ‘च’ बाट नाम राख्नुपर्छ भनेपछि उनको नाम राखिएको रे ‘चन्द्रमाया’ । त्यसो त आमाचाहीँले ‘चमेली’ राख्ने भनेकी थिइन् रे । तर त्यो नाममा सहमति जनाएनन् रे बा ले । “चमेली भन्ने त हाम्रो मामाघरमा एउटी केटी थिइ, हामी सानो छँदा, छुच्ची थिइ” भनेर त्यो नाम हुँदैन भनेको रे । अनि चन्द्रमाया नाम राख्ने भनेको रे ।


गाउँमा गाईँगुईँ हल्ला चाहीँ छ, चन्द्रमाया भन्ने पनि उनको मामाघरमा एउटी केटी थिइ रे, उनी सानो छँदा । तर, खै किन उनले त्यही नाम छोरीको लागि जुराए त्यो चाहीँ कसैले पनि भेउ पाएनछन् । सायद उ चाहीँ छुच्ची थिइन होली ।

२ गाउँ पारीको स्कुलमा एकै कक्षामा पढ्ने साथीहरु थिए सूर्य, सागर र चन्द्रमाया । अझ भनौँ, भर्खरै एस.एल.सि.दिएर बसेका साथीहरु थिए । उनीहरुको वस्तुभाउ चराउन लैजाने ठाउँ पनि एउटै थियो । जाँच सकिएर फुर्सदिलो भएका थिए । रिजल्ट आउन अझै केही महिना लाग्थ्यो नै । र त गोठालो गएरै बित्थ्यो दिनहरु ।

एकदिन सुर्जेको रोपाईँ थियो । त्यसैले उ गोठालो गएन, बरु खेततिर गयो, बस्तुभाउलाई अघिल्लो दिन नै ल्याएको घाँस हालिदिएर । त्यो दिन गोठालोमा सागर र चन्द्रमाया मात्रै भए । हुन त अरुहरु पनि थिए । तर उनीहरु पनि आ-आफ्नै साथीहरुसँग थिए, जसरी सूर्य, सागर र चन्द्रमाया आफ्नै साथी हुन् ।

गाईवस्तु चर्न थालेपछि उनीहरु सिमलको रुखको फेदमा बसे । घाम निक्कै नै चर्किरहेको बेलामा रुखको छाहारी अमृत समान थियो उनीहरुलाई । केहीबेर दुवै बोलेनन् ।

एकछिन् पछि चन्द्रमायाले सोधी, ''सागर, तँ किन खासै बोल्दैनस् म सँग ?''

के को नबोल्नु नी, बोलि त रा’छु । उसले जवाफ फर्कायो ।

“भए पनि सुर्जे जस्तो धेरै बौल्दैनस् नी त ?” अर्को प्रश्न थपी चन्द्रमायाले ।

“धेरै बोल्नैपर्छ भन्ने पनि त होईन ।” अकमकाउँदै बोल्यो सागर ।

चुप्प भइ चन्द्रमाया ।

“त्यो सुर्जे धेरै बोलेर के भो त, त्यसले भन्दा धेरै माया त मै गर्छु क्यारे तँलाई” यो चाहीँ उसले नसुन्ने गरि मनमनै भन्यो सागरले । आखिर घुस्घुसे जो थियो ।

हावाले अघिल्तिर ल्याएको कपाल पछि सार्दै बोली चन्द्रमाया, “बोल्दा झन नजिक भइन्छ नि त ।”

“नबोले नि गाउँभरिमा मेरो सबैभन्दा नजिकको साथी तैँ हो जस्तो लाग्छ मलाई ।” यत्ति चाहीँ बडो मुस्किलले भन्यो सागरले । भन्न त उ अरु नै चाहन्थ्यो, तर ‘साथी‘ मात्रै भनेर मन बुझायो ।

ओँठ लेप्राएर नपत्याए झैँ गरि, भनि उसले, ‘होला खुब्बै !’

‘विश्वास लागेन ?’ सोध्यो सागरले ।

‘अँ लाग्यो’ उ बोली, ‘तँलाई चैँ लागेन क्या हो ?’

‘के कुरामा ?’

‘मलाई पनि तँ नजिकको लाग्छ भन्ने कुरामा नी ।’

‘मलाई पनि लाग्यो ।’ मुसुक्क हाँसेर अन्तै हेर्दै भन्यो सागरले ।

‘यत्ति छिट्टै ?’ फेरी प्रश्नको झटारो हानी चन्द्रमायाले ।

अलिकति छलिँदै बोल्यो सागर, “हैन, पहिल्यै देखी लाग्थ्यो ।”

अनि उसले वस्तु धपाउने लौरो भुईँमा ट्वाक ट्वाक ठोकाउँदै भनी — “घुस्घुसे”

जीवनमा पहिलो पटक कसैले नाम काटेको खुुब्बै मनपर्यो उसलाई । अनि आफुले पनि मनमनै दोहोर्यायो - “घुस्घुसे ।” त्यसपछि त्यो दिन त्यस्तो चासो लाग्ने कुरा अरु त खासै भएन । तर जे भयो, त्यो पनि धेरै नै भयो । यत्ति नै काफी थियो सागरेलाई । बाटामा फर्किँदा पनि के के कुरा मनमा खेलाएर वस्तुको पछिपछि हिँडिरह्यो उ । अनि छुट्टिने बेलामा फेरी उसैगरि लाडिएर बोली चन्द्रमाया, “जा है घुस्घुसे !” जवाफमा मुस्कुरायो मात्रै उ । फेरी पनि मनपर्यो उसलाई, आफ्नो काटिएको नाम “घुसघुसे ।”

साँझ खाना खाने बित्तिकै टुकी बालेर के के लेखिरह्यो उसले । आमैले सोधिन्, “जाँच सक्या हैन र जेठा ! फेरी पढिराछस् त ।”

“पढ्ने बानी बिग्रिन्छ भनेर पढ्या के आमा”, उसले सजिलै भनिदियो । आमै खुशी भएर सुतिन् तर उ चाहीँ अबेरसम्म लेखिरह्यो । एकपटक घोरिएर पढ्यो अनि थोरै मुस्काएर च्यातेर बाहिर फालिदियो ।

अझै चैत सकिएको थिएन । गोठालोमा मन भुलाउने क्रम झनै बढेको थियो सागरको । उतापट्टीको कुरा के थियो, त्यो उसले भेउ पाएन भन्दा पनि हुन्छ ।

त्यो सुर्य र सागर मात्रै थिए, गोठालोमा । अर्थात चन्दमाया आएकी थिइन् । एस.एल.सि.मा पास हुन्छ की हुँदैन होला, पास भए कहाँ गएर पढ्ने होला भन्ने विषयमा कुरा गर्न थाल्यो सुर्य ।

सागरले केही निराश भए झैँ गरि भन्यो, म त पास भएनी बा आमाले पढाउन सक्दैनन् यार । बरु म त काम गर्न शहर जान्छु । धेरै पैसा कमाउँछु अनि भाइ र वहिनीलाई चाहीँ धेरै पढाउँछु ।

केही सोँचे झैँ गरि बोल्यो सूर्य, “तिमारको गोरु बेच्यो भने त तँलाई क्याम्पस भर्ना गर्ने पैसा भैहाल्छ नि !”
“काँ हुनु, त्यो गोरु बेचेको पैसाले त, पोहोर हजुरबाको किरियामा श्रण लिएको पैसा तिर्न परिहाल्छ नी ।”
“त्यसो भा, तेरो बा लाई पैसा कमाउ भन्न त ।” फेरी उपाय बताए झैँ गर्यो सुर्यले ।

सागर बोल्यो, “बाले भनेको शहराँ पैसा कमाउन सकिन्छ रे । त्यै भर म त बरु शहराँ गएर धेरै पैसा कमाउँछु यार । बा लाई त काँ शहर पठाउनु नी, बा त बुढो छन् ।”

सायद फेरी केही उपाय बताउन खोजिरहेको थियो सूर्य । तर त्यति नै बेला स्याङ्गतान नी बज्यै मोटो ज्यान सकि नसकी दौडाउँदै चिच्याइन् - लौन, मेरो गोरु फर्काइदेओ । मुखियाको बाली खायो भने त मार्छ, मुडदारले ।
सूर्य दौडिएर गयो र गोरु फर्काइदियो पनि । धन्न बालीमा मुख जोत्न पाएन गोरुले । नत्र मुखियाले हर्जाना तिराउँथे बज्यैलाई ।

त्यै भएर खुशी हुँदै बज्यैले सूर्यलाई आशिष दिईन — “लौ बा, आज मलाई गुन लाइस् । तँलाई हिन्दा ठेस नलागोस् । नौँदा केश नझरोस् । सन्तानले डाँडा काँडा ढाकुन् ।”

दशैँमा जस्तै गरि बज्यैले आशिष दिइरहेको सुनेर मुसुमुसु हाँसिरह्यो, सागर । सायद आमैको आशीर्वाद सुनेर पनि हाँसिरह्यो उ, “सन्तानले डाँडाकाँडा ढाकुन् ।”

आमा अझै भन्दै थिइन्, “सूर्जे तैँले चिताको सबै कुरा पूरा होस् । राम्री, घर गरेर खाने, अनि सँधै लोग्नेलाई माया गर्ने जोइ मिलोस् तँलाई ।” जोई अर्थात श्रीमती ।

सागरले आमैको आशिष एकचोटी फेरी मनमनै दोहोर्यायो, “राम्री, घर गरेर खाने, अनि सँधै लोग्नेलाई माया गर्ने जोइ” बज्यैले भनेजस्ती त चन्द्रमाया थिइ । ठ्याक्कै त्यस्तै । तर बज्यै त सूर्जेको लागि पो माग्दै थिइन्, चन्द्रमाया । अलि खल्लो लाग्यो सागरलाई ।

आफ्नै अघि सुर्जेले चन्द्रमायालाई बाजा बजाएर भित्राएको एकैचोटी सम्झियो उसले । त्यतिमात्रै हो र, उनीहरु दुवैजना हाँसीहाँसी दुल्हन फर्काउन गएको पनि सम्झियो । अनि ठुलै हुरी आयो उसको मनमा । अस्ति उसको घरको पाली नै उडाउने भन्दा ठुलो हुरी ।

अनि पश्चाताप पनि लागिरह्यो मनमा, बज्यैको गोरु आफैले धपाउन नगएकोमा । यदि गएको भए, ती आशिष सबै आफैले पाउँथेँ की भन्ने खुन्खुन् बल्झिरह्यो मनभित्र ।

गोठालोबाट फर्किँदा उसले मन चोर्यो सूर्यको, “के हो सुर्जे, तँलाई त राम्री बुढी पाओस् भनेर आशिक पो दिईन् त बज्यैले त ।”

“धेरै राम्री बुढी चाहिँदैन हो, मलाई त त्यै चन्द्रे भए हुन्छ ।” कति सजिलै भनिदियो सूर्यले ।

तर त्यति नै सजिलोसँग सुनेन सागरले । धेरै नै अफ्ठ्यारोसँग सुन्यो । यति नमिठो कुरा आजसम्म सूर्यले सुनाएको थिएन उसलाई ।

त्यो मन मिल्ने साथीले कुनैदिन, त्यै मनमा यसरी झटारोले हान्ला भन्ने सोँचेको पनि थिएन उसले । कसैले छातीमा बेस्सरी मुड्कीले हाने जस्तै पिडा भयो उसलाई । केही बोल्नै सकेन । आकाश कालो निलो भइरहेको थियो । तर उसको मनको टुकी भने एकैपटक झ्याप्प निभेर पूरै अन्धकार भइदियो ।

सूर्य झनै मच्चिएर बोल्यो, “ओई तँलाई याद छ, मेरो र चन्द्रेको त नाम पनि कस्तो मिल्छ नि, सूर्य अनि चन्द्र । नेपालको झण्डामा पनि चन्द्र र सूर्य छ नि बुझिस् ?

सागरलाई नमज्जा लाग्यो । सोँच्यो, बरु सूर्यको सट्टा सागर राखेको भएपनि हुन्थ्यो नि झण्डामा, आखिर नेपाल जलश्रोतको धनी देश पनि हो क्यारे । अनि उसले नेपालको झण्डा सम्झियो । र सम्झियो, त्यहाँ सूर्यको ठाउँमा सागर भएको पनि । तर त्यो त्यति सुहाएको जस्तो चाहीँ लागेन उसलाई, जति त्यहाँ सूर्य सुहाउँछ ।

अनि एकपटक आफैले हार्यो आफ्नै मनसँग । अनि त आफ्नै नाम पनि नराम्रो लाग्यो उसलाई । बरु मेरो नाम चाहीँ सूर्य भएको भएनि हुने नि भन्ने सोँच्न थाल्यो । तर सूर्य र चन्द्र त कहिले एकैठाउँमा भेट नै हुँदैनन् भनेर चाहीँ सोँच्नै सकेन उसले ।

सायद सोँचेको भए केही राहत मिल्थ्यो होला । यदि सोँचेको भए, सागरमा बरु चन्द्रको मुहार छायाँ बनेर भएपनि ढलपल ढलपल हुन्छ, सागरसँग बरु सँगै भएजस्तो हुन्छ चन्द्र भनेर झन् कत्ति खुशी हुँदो हो उ । तर त्यसरी खुशी हुन भने जानेन उसले ।

“ओई, के भयो, के हो मैले चन्द्रेलाई माया गर्ने कुरा सुनेर त बोल्दै बोलिनस् त । के हो कुरा, कतै तँ पनि...।”

उसको कुरा पूरा हुन नपाउँदै बोल्यो सागर, “ह्या नचाहिने कुरा नगर्न यार, कहाँ चन्द्रे कहाँ म । फेरी म त त्यसको लागि सुहाउँदा पनि सुहाउन्नँ नी ।”

“ल ल चिन्ता नगर, तेरो भाउजु बनाउँछु अनि देवर बन्न त सुहाइहाल्छस् नी ।” सूर्यले भन्यो ।

एकपटक फेरी बेस्सरी छातीमा कसैले मुक्का बजारे जस्तो भयो उसलाई । केही बोलेन । घर आएपछि छुट्टियो ।
त्यो रात अबेरसम्म निदाएन उ । बा ले “सुत् अब” भनेको पनि मानेन ।
अनि आमैले “निन्द्रा लागेन अझै ?” भनेको पनि नसुनेझैँ गरिदियो ।

त्यो रात केही लेख्यो उसले कापीमा । सर्रर बाहिर चलेको हुरी भत्केको पाली हुँदै भित्रै सम्म आएर झ्याप्प निभायो टुकी । च्यात्न ठिक्क पारेको कापीको पाना पनि उडाइदियो बाहिर । यो पाली चाहीँ लेखेको कुरा च्यात्नै पाएन उसले ।

भोलीपल्ट गोठालो जान बोलाउन आयो सूर्य । तर आफुहरु ब्यूझिँदा सागर ओछ्यानमा थिएन भनेर सुनाए बा आमाले । उसको केही कपडाहरु अनि स्कूल जाँदा बोक्ने पुरानो ब्याग पनि नभएको सुनाए । कता गयो होला त भन्ने जिज्ञासा उब्जिन नपाउँदै एउटा कागजको पाना आँगनमा देख्यो सूर्यले, अनि यसो पढ्यो ।

लेख्न त अरु पनि थुप्रै लेखिएको थियो । तर एउटा कुराले भने निक्कै नमज्जा लाग्यो सूर्यलाई । मैदालको काँडाले मुटुमै घोचे जस्तो भयो ।

लेखिएको थियो, “सायद तिम्रो देवर बन्न मात्रै सुहाउँछु म । तिम्रो बन्न सुहाउँदिन ।”


लेखक महावीर विश्वकर्मा रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क को सहकार्यमा उत्पादन भई देशभरिका ९० भन्दा सामुदायिक रेडियोबाट सोमबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने कार्यक्रम 'वहकिने मन'का प्रस्तोता हुनुहुन्छ । 

No comments:

Post a Comment

Understanding Carpet Area, Built-up Area, and Super Built-up Area in Real Estate

Understanding Carpet Area, Built-up Area, and Super Built-up Area in Real Estate When purchasing property, especially in the rea...